प्रारम्भिक बाल्यावस्थाको संवेगमाथि लेखिएको हो स्कुल बेच्ने बालक

कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले ‘एम्बुसमा ६ वर्ष’, कर्म : सिकाइमा गरिएको खाडल, ‘टयालेन्ट शो’, र ‘स्वर्णीम समय’ पछि ‘स्कुल बेच्ने बालक ’ लिएर नेपाली आख्यान साहित्यमा उपस्थित जनाउँदै छन् । उनको पछिल्लो कृति ‘स्कुल बेच्ने बालक’ ले रचनात्मक तरिकाले सोच्ने हो भने हरेक मान्छेको हरक्षण, भेटघाट र भलाकुसारी कति अमूल्य हुन्छ भन्ने पुष्टि गरिदिएको छ । किनभने आफ्नो वरिपरिको घटना, परिवेश, पात्र, प्रवृत्तिलाई टपक्क टिपेर सन्देशमुलक बनाउनु उनको लेखनका मुख्य विशेषता हो । यो कृतिमा पनि उनले यही शैलीको सफल प्रयोग गरेका छन् । सो कृतिमा मुल पात्र प्रारम्भिक बाल्यकालमा दौडिरहेका बालक हार्दिक हुन् । हार्दिकसग यो वा त्यो रुपमा संवाद गरेका अनेक व्यक्ति यो पुस्तकको पात्र बनेर आएका छन् । लेखकले तिनै पात्रलाई आफ्नो अधययनको माध्यम बनाएका छन् । बालबालिकालाई केन्द्रमा राखेर व्यवहार गर्नुपर्छ भन्ने चेतना शून्यप्राय भएको अवस्थामा सो कृतिले अभिभावक, शिक्षक र बालबालिकामा चासो दिनेलाई मार्ग निर्देशन गरेको छ । भाषा शैली सरल, सहज, बालबोधगम्य छ । सामाजिक संजाल दुरुपयोग भइरहेको अहिलेको परिवेशमा लेखकले भने त्यही सामाजिक संजाललाई बालबालिकालाई हेर्ने दृष्टिकोण अध्ययन गर्ने माध्यम बनाएका छन् । यस अर्थमा यो नया प्रयोग हो । यसबाट पनि पाठकले केही सिक्न सक्छन् । लेखक न्यौपानेले सामान्य ठानिने विषय वस्तुलाई पनि सुक्ष्म र गहन रुपमा उठाएका छन् । यो लेखक न्यौपानेको लेखनको अर्काे विषेशता हो । यिनै विषयको सेरोफेरोमा लेखक न्यौपानेलाई साहित्यकार श्रीराम राइले केही केही प्रश्न सोधेका थिए ।


विशेष तपाइ पत्रकार हुनुहन्छ । स्थापित व्यक्ति हुनुहुन्छ । गहन कृति पनि लेख्नु भएको छ । तपाइले फेसबुक दुरपयोग भइरहेको बेलामा यही फेसबुकलाई पनि आफ्नो पुस्तकमा लेखनको आधार बनाउनु भएको छ । कारण के हो ?
मैंले फेसबुकलाई आधार बनाएर लेखेको होइन । बालबालिकालाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर बुझ्न फेसबुक प्रयोग गरेको मात्र हु । त्यही कुरा लिएर मान्छेपिच्छे जान अफ्ठेरो थियो । सामाजिक संजालले थुप्रै मान्छेको भावना बुझ्न सजिलो भयो । प्रविधिले ल्याएको यो सजिलोपन मैंले पुस्तकमा प्रयोग गरें ।
बालकेन्द्रित पुस्तक धेरै आइरहेका छन् तपाईको । बालकेन्द्रित कृति नै बढी आउनुको कारण के हो ?
बालबालिकालाई हेर्ने दृष्टिकोण बदलौं भन्ने मेरो अभियान हो । म कहिले पत्रिकामा लेखेर, कहिले सामाजिक संजालमा लेखेर, कहिले विद्युतीय संचार माध्यममा बोलेर यो अभियान चलाइराख्छु । पुस्तक लेख्नु पनि त्यही अभियान अन्तर्गत आएको हो । बालबालबालिकाको विषयमा अध्ययन गरेर लेखिएका पुस्तक एकदमै कम छन् । त्यही अभावलाई केही भएर पनि पूरा गर्न सकियोस् भनेर लगातार किताब लेखिराखेको हु । खासमा अभिभावकलाई लक्षित गरेर केही किताब लेखेको छु मैंले ।
यहा हार्दिकलाई मुल पात्र बनाउनु भएको छ । पहिला नै हार्दिकको पात्र बनाएर लेख्नु भयो वा लेख्दा लेख्दा पछि आएको ? यसको रचना गर्भ के हो ?
बालबालिकाको विषयमा म निरन्तर अध्ययन गरिराखेका छु । अध्ययनका क्रममा बालबालिकाको कुरा सुनौं भनेर मैंले फेसबुक अभियान चलाइरहेको थिए । यो अभियान चलाउने क्रममा हार्दिक हुर्काउने जिम्मेवारी पनि आयो । त्यही क्रममा मैंले हार्दिकबाट धेरै कुरा सिके । उनका कुरा मलाई रमाइलो लाग्न थाल्यो । उनीहरुको आवाजलाई रमाइलोको रुपमा मात्र प्रयोग गर्नु हुदैन भन्ने लाग्न थाल्यो मलाई । यसलाई गम्भीर रुपमा उठाउनु पर्छ भन्ने लाग्यो । प्रारम्भिक बाल्यकालका बालबालिकाको आवाज त यो पो हो त भनेर बालआवाजका रुपमा प्रचार गरें मैंले यसलाई । पहिला रमाइलो लागेर फेसबुकमा राखें । रमाइलोको साथमा यसमा के मनोविज्ञान छ त उनको ? मनोवैज्ञानिक सन्देश यो छ भनेर लेख्न थालें । उनका पोष्ट धेरैले मन पराउनु भयो । म झन् हौशदै गए । धेरैले ओहो यो त किताब पो हुन्छ भन्न थाल्नु भयो । मैंले पनि लेख्ने सोच राखेको थिए । बालमनोविज्ञान बुझे पछि त्यसलाई लेख्ने सामग्री यसै हुने भइगयो । किताबको थुप्रै प्लट सिर्जना गरिदिए हार्दिकले । स्कुल बेच्ने बालक एउटा थिममा लेखिएको हो । यस्ता थिम थुप्रै छन्, जुन हार्दिकले सिर्जना गरिदिए ।
बालकेन्द्रित पुस्तक कर्म लोकप्रिय भयो । कर्म धेरै चर्चाको शिखरमा आयो । पछिल्लो कृतिले अघिल्लो कृतिसग कसरी प्रतिष्पर्धा गर्ला ? साहित्य बजारमा स्कुल बेच्ने बालकले प्रतिष्पर्धा गर्ला ?
यो मलाई चिन्तै छैन । मेरा सबै किताब फरक विषय वस्तु समेटिएका छन् । कर्म बेग्लै हो, स्वर्णिम समय फरक हो, ट्यालेन्ट शो फरक हो । एम्बुसमा ६ वर्ष फरक कृति हो । पहिला आएका यि तीन कृति मध्ये तीन वटामा मैंले फेरो मात्रै बालबालिका समेटेको हु । पाचौं पुस्तकमा पनि फेरो बालबालिकै हो । लेखन बालबालिका भए पनि विषय वस्तु फरक हुन् । थिम फरक हुन् । चार वटा किताबमा उनीहरुको विषय सकिंदैनन् । लेख्ने विषय हजारौं छन् बालबालिबालिकामा । त्यस अर्थमा एउटा पठेर अर्काेको स्वाद थाहा हुदैनन् मेरा किताबका । मेरो किताब जसले पढ्नु भएको छ उहाहरुले स्कुल बेच्ने बालक पनि पढ्नु हुनेछ । यो मेरो विश्वास हो । अहिले बजारमा भएको चर्चा र मागलाई आधार मान्ने हो भ ने मेरा अरु किताबभन्दा बढी यो विक्री हुन्छ । अनि स्कुल बेच्ने बालबकको कारण मेरा अरु किताब पनि पाठकले खोज्नु हुन्छ ।
बालबालिका बन्धनमा छन् । यो बन्धनबाट मुक्ति दिलाउन यो पुस्तकले कसरी मार्गनिर्देशन गर्छ ?
मैंले यही विषयमा जोड दिएको छु । केन्द्रिय विषय नै यही हो भन्दा पनि हुन्छ मेरो पुस्तकको । हाम्रा सहरका स्कुल बालबालिकाको लागि जेल जस्तै बन्दै गएका छन् । उनीहरुको मनोविज्ञान बुझेर व्यवहार गरिएको छैन । उनीहरुको रुचीमाथि हस्तक्षेप भएको छ । त्यह िकारण स्कुल जान मान्दैनन् । गृहकार्य मान्दैनन । हाम्रो शिक्षा निति नै फेल खाएको छ । हामीले असल नागरिक उत्पादन गरिरहेका छैनौं । शिक्षामा किन खराबी आयो ? किनभने हामीले शिक्षाको नाममा सुचनाका थुप्रो दिइरहेका छौं । हामीले व्यवहार गर्न सिकाएका छैनौं । असल बन भन्छौं तर असल कसरी बनाउने ? यसको लागि वातावरण बनाइदिएका छैनौं । यसमा हामी अभिभावक, शिक्षक चुकेका छौं । यही विषयमा पुस्तकमा प्रसस्त छलफल चलाएको छु मैंले । बाकी चाहिं एकपटक पुस्तक पढ्नुस् । यो प्रश्नको वृहत् उत्तर त्यहा पाउनु हुनेछ ।
तपाइको पुस्तक पाठकले धेरै रुचाउनु भएको छ । वेस्ट सेलर भएका छन् । तर विभिन्न संघ संस्थाको पुरस्कार किन पाउनु हुन्न ?
हाहा । सम्मान पुरस्कार भनेको यही नै हो नि । धेरैले पढ्नु नै पुरस्कार हो । म सयौं पाठकको बीचमा घेरिएको हुन्छु । यही त हो नि पुरस्कार । पुरस्कार लेखकको चिन्ताको कुरा होइन । पाठकको माया ठूलो हो ।
पुरस्कार राम्रोलाई भन्दा हाम्रोलाई दिने चलन छ । यसले लेखनलाई के प्रभाव पार्छ ?
पुरस्कार कस्तोलाई दिन्नेमा भन्नेमा मेरो केही प्रतिकृया छैन । केही गुनासो पनि छैन । आग्रह, पूर्वाग्रह छैन । जसले पाउनु भएको छ उहाहरु योग्य भएरै पाउनु भएको होला । सम्मान पुरस्कार त मैंले पनि असंख्य पाएको छु । कोठामा सम्मान पत्र राख्ने ठाउ छैन । महिनामा औसतमा चार पाच सम्मान पुरस्कार पाएको छु । यस अर्थमा सम्मान पुरस्कारले हौशला त दिन्छ । लेख्न हौशला मिल्छ । मलाई समाजले पुरस्कार दिएकै छ । विभिन्न संघसंस्थाले सम्मान दिएकै छन् । नागरिक स्तरबाट पाउनुसम्म सम्मान पाएको छु । पुरस्कारको विषयमा मेरो कमेन्ट केही छैन ।
तपाईको उमेर पनि सानै छ । थोरै समयमा धेरै लेख्नु भयो । जति लेख्नु भयो, सबै सफल भएका छन् । तपाइका पुस्तक कसरी सफल भए ?
लेख्न सजिलो छैन । मैंले सजिलो गरि लेखेको हुदै होइन । लेख्न सोच चाहिन्छ । सोच त्यतिकै आउदै, कुनै कुराले तपाइलाई पोल्नु पर्छ । छटपटि हुनु पर्छ । किन लेख्ने ? यसको उत्तर हुनु पर्छ तपाइसंग । किन लेख्ने ? लेखक हुन लेख्ने ? यसो हो भने तपाईको संख्या बढ्ला तर समाजले तपाइका सिर्जना रुचाउने छैनन् । समाजका समस्या के छन् ? ति समस्या समाजमै बहस चलाउनु पर्छ भनेर सोच्छु म । त्यही सोचले लेख्छु । समाजको हित हुने कुरा लेखेपछि त्यसमा चासो बढ्छ । बहस चल्छ । बहसच चलेका विषयमा पाठकको ध्यान जान्छ नै । पाठकको ध्यान गएपछि नै हो रुचाउने । मैंले अहिले बालबालिका विषय बनाएको छु । किनभने भोलि हाम्रो भविष्य राम्रो बनाउने हो भने बालबालिकालाई असल बनाउनु पर्छ । असल त्यतिकै बन्दैनन् । असल बनाउन तरिका पुर्याएर हुर्काउनु पर्छ । उनीहरुलाई व्यवहार गर्ने तरिका जान्नु पर्छ । म यही तरिका सिक्नु पर्छ भन्ने अभियानमा छु । म आफैं सिकिरहेको छु । त्यही सिकेको कुरा सिकाउने अभियानमा छु । मेरो मनभित्र आन्दोलनको ज्वारभाटा उर्लिएको छ । त्यही उर्लिएको ज्वारभाटालाई पुस्तकाकार दिएको हु । आन्दोलनमा मान्छेको समर्थन बढ्दै गएको छ । पुस्तक मन पराएको भन्नुको अर्थ त्यही हो ।

तपाइको सफलताको सुत्र के हो ?

सफल हुन सक्रियता चाहिन्छ । सक्रियता भएर मात्रै पुग्दैन, ढंग पुग्ने गरि काम गर्नु पर्छ । ढंग कसरी पुर्याउने ? त्यसका लागि सोच चाहिन्छ । सोच कसरी आउछ ? सोच विकसित हुन अध्ययन गर्नु पर्छ । के आवश्यकता हो भनेर बुझ्नु पर्छ । आवश्यकता यो रहेछ भनेर बुझेपछि मात्रै सोच विकसित हुने हो । सोच विकसित समाज पढेर भएको हो मेरो । म जतिबेला पनि समाजमै हुन्छु । म डेढ दशकदेखि समाजका कुनाकाप्चा चाहारेको छु । यसको परिणाम मैंले समाजको मनोविज्ञान बुझेको छु । समाज बुझ्न म निरन्तर समाजमा गइरहन्छु । निरन्तर समाजमा गयो भने विषयवस्तुको खाचो हुदेन । समाजमा गएपछि कोर विषय आउछन् । अनि टेबलमा बसेर कपी पेष्ट गरेर लेख्नु पर्दैन । अरुको रिफरेन्स दिएर लेख्नु पर्दैन । समाज गएपछि सधैं नया कुरा आउछ । नया शैली आउछ । नया शैलीलाई हो धेरैले रुचाउने । अध्ययन गर्नु भयो भने पुरानै विषयलाई पनि नया ढंगले प्रस्तुत गर्न सकिन्छ । मैंले भन्नु पर्दा सफलताको शुत्र यही हो ।

तपाइका पुस्तक बेस्ट सेलर भएका छन् । बेस्ट सेलर भएर राम्रो रोयल्टी पाउनु भएको छ त ? के लेखेर बाच्न सकिन्छ ?

लेखेर बाच्ने दिन आए । तर कस्तो लेख्ने भन्नेमाचाहि. भर पर्छ । राम्रो विषयवस्तु लेख्नु भयो भन्ने पाठकले रुचाउनु हुन्छ । प्रकाशकले राम्रोसग बेचिदिए भने विक्रि राम्रो हुन्छ । इमान्दारि पूर्वक रोयल्टी दिए भने लेखकलाई दालभात खाने पैसा जुटाउन मुस्किल पर्दैन । तर प्रकाशक व्यवसायिक हुन जरुरी छ यसका लागि । व्यवसायिक हुन केही समय लाग्छ मेरो अनुभव सुनाउनु पर्दा । हामीले लेखकले प्रकाशकलाई व्यवसायिक हुन झकझकाउनु पर्ने अवस्था छ मैंले काम गरेका प्रकाशकको हकमा ।

पैसा दिएर पुस्तक लेखाउने प्रवृत्ति छ । एनजिओ, आइएनजीओले लगानी गरेर लेखकलाई लेखाएका छन् । तपाइ भने समूहले गर्ने काम एक्लै गर्नु भएको छ । संघसंस्थाले पैसा दिएको छ तर काम भएको छैन । तर तपाइ एक्लै भिड्नु भएको छ । समस्या छैन ?
खै अरुले के गरिराख्नु भएको छ मलाई त्यति जानकारी छैन । मेरो ध्यान त्यतातिर छैन । म के गरिरहेको छु भनेर आफूलाई समिक्षा भने गर्छु । मैंले यी काम गर्न जरुरी छ र म गर्न सक्छु पनि भन्ने हुटहुटिले सब गरिाखेको छु । यसमा त्यागको भावना बढी छ । मैले त्याग किन गरिराखेको छु र कसरी मेरो काम त्या भयो ? यस विषयमा म पछि कुनै बेला बोल्ने छु । मैंले चूनौती व्यहोरेर लेखिराखेको छु । अहिले यति भन्छु ।
तपाई पत्रकारित गर्नु हुन्छ । पुस्तक लेख्नु हुन्छ । तपाईलाई के भनेर चिन्ने ? तपाइ आफूलाई के भनेर चिनाउनु हुन्छ ?

मलाई जे भनेर चिने पनि हुन्छ । तपाइ के भनेर चिन्नु हुन्छ, त्यही हो मेरो परिचय । पेशाले म पत्रकार हु । मेरो क्रियाशिलता पत्रकारितामा हु । बचेको समयमा पुस्तक लेखेको हु । मेरो परिचय यो होस भनेर मलाई चिन्ता लाग्दैन । मेरो परिचय कर्मले दिने हो ।

दण्डहिनताले प्रशय पाएको छ । श्रमको मुल्य छैन । देशमा विसंगति कसरी हटाउन सकिन्छ ?यस्तो अवस्थामा अबको बालबालिका कस्तो हुनु पर्छ भन्ने लाग्छ ?

मुख्य कुरा शिक्षामा आमुल परिवर्तन गर्नु पर्छ । हामीले दिएको शिक्षामै खराबी छ । हामीले पढाइ, शिक्षा र विद्यालाई एउटै डालोमा राखेर हेर्यौं । पढाइ शिक्षा र विद्या फरक हुन् । हामीले पढाइलाई नै शिक्षा ठान्यौं । पढायौं तर शिक्षा दिएनौं । पढायौं तर विद्या दिएनौं । विद्याले विनम्रता दिनु पर्छ । तर हाम्रो शिक्षाले बिनम्रता दिएन । हाम्रो शिक्षाले अहम् दियो । किनभने हाम्रो शिक्षाले सूचना दियो । सूचनाले ज्ञान मात्रै दियो । त्यो ज्ञानले मै बुझ्ने हु भन्ने अहम दियो । अहम्ले मान्छेलाई उदण्ड बनाइदियो । उदण्डताले हिंसा सिर्जना गरिदियो । एकले अर्काेको अस्तित्व स्विकार गर्न सिकाएन । त्यसले द्धन्द्ध बढाइदियो । कलह बढाइदियो । इष्र्या बढाइदियो । देखसेखी बढाइदियो । यसबाट मुक्ति पाउन आफूले आफैंले चिन्ने शिक्षा दिनु पर्छ । आफ्ना आफन्त चिन्ने शिक्षा दिनु पर्छ । आफ्नो समाज चिन्ने, संस्कृति चिन्ने शिक्षा दिनु पर्छ । समग्रमा मान्छे चिन्ने शिक्षा दिनु पर्छ । आफ्नो माटो चिन्ने र माटोलाई मायाा गर्ने शिक्षा दिनु पर्छ । अनि हामीले चाहे जस्तो असल नागरिक उत्पादन हुन्छन् । शिक्षालाई यो दिशामा अगाडी बढाउन अनेक अनेक दृष्टान्त दिएको छु पुस्तकमा । अनेक पात्र, प्रर्वत्ति,, पुस्तकको सहायता लिएर दृष्टान्त दिएको छु । ती दृष्टान्तले हाम्रो मनस्थिती परिवर्तन पक्कै गर्नेछ । हाम्रो मनस्थिीती परिवर्तन भएपछि बालबालिकालाई लालनपालन गर्ने तरिका जान्ने छौं । तरिका पुर्याएर हुर्काइएको बालबालिकाले मात्रै हामीले चाहेको जस्तो परिणाम दिनेछन् भन्ने मेरो विश्वास छ ।
तपाइ बाल अभियन्ता हुनुहुन्छ । तपाइले राम्रो काम गर्नु भएको । अब तपाइले गर्नु पर्ने काम के हो ? तपाइले अब गर्ने काम के हो ? अब बालबालिकाको विषयमा गर्नु पर्ने के छन् ?
बालबालिकाको क्षेत्रमा यति गरें भनेर सकिंदैन । दिन दिनै ह ामीले गर्नु पर्ने कामका सूची लामो छन् । किताबै लेख्ने हो भने पनि दशौं किताबका प्लट छन् म सग । म क्रियाशिलता समग्रमा देशको लागि हो । देश कस्तो बनाउने भन्ने चिन्तन हो । आफ्नो लागि, परिवारको लागि, समाज र देशको लागि समग्रमा मानव समूदायको लागि केही गर्नु पर्छ हामीले । मेरो भावि योजना भने पनि यही हो । मेरो जीवन दर्शन भने पनि यही हो । यही बाटोमा म क्रियाशिल रहिरन्छु शरिर र बुद्धिले साथ दिएसम्म ।

Comments

comments